Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ मा राप्रपाले तत्काल सरकार नछाड्ने



विराटनगर : प्रदेश १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ । राष्ट्रिपति निर्वाचनका विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले शनिबार संघ र प्रदेशका सबै सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार राप्रपाले संघीय सरकार र केही प्रदेश सरकारबाट बाहिरिएको छ । तर, प्रदेश १ मा भने तत्काल राप्रपाले सरकार नछाड्ने भएको हो

राप्रपा संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश १ को राजनीतिक अवस्थाका कारण सरकार छाडिहाल्नुपर्ने परिस्थिति नभएको बताए । उनले भने, ‘प्रदेशको राजनीति विशिष्टिकृत छ, त्यसैले तत्काल सरकारबाट छोड्ने परिस्थिति बनेको छैन् ।’

उनले आज बेलुक पार्टीको प्रदेश समितिको बैठक बस्ने तयारी भएको पनि बताए । उनले पार्टी केन्द्रको निर्देशनअनुसार आज मुख्यमन्त्रीसमक्ष राजिनामा दिने तयारी गरेका थिए ।

प्रदेश १ का राप्रपाका ६ सांसद छन् । राप्रपाले नेकपा एमालृेसँग सहकार्य जारी रहने बताएको छ । एमाले र राप्रपा मिल्दा प्रदेशमा ४६ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ ।

हाल नयाँ बनेको गठबन्धनका नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद गरी ४७ सांसद भए पनि माओवादी केन्द्रका सांसद बाबुराम गौतम सभामुख छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार