Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नामकरण माग गर्दै सांसद पाठकले भने – अहिले नगरे कहिले गर्ने ?



विराटनगर : नेकपा एमाले प्रदेश १ का प्रदेशसभा सदस्य तिलचन पाठकले प्रदेशको नामकरण नहुँदा शिर निहुर्याएर हिँड्न बाध्य भएको बताएका छन् । उनले पहिचानविहीन प्रदेशसभाको सदस्य बनेको बताउँदै आफूहरूले लगाएको प्रदेशको लोगोले समेत जिस्काउन थालेको बताए ।

शुक्रबार प्रदेशसभाको विशेष समयमा बोल्दै उनले प्रदेशको नाम राख्न नसक्दा जनताले चौतर्फी आलोचना गर्न थालेको बताए । ‘नाम राख्न नसक्ने तपाईंहरू बाट खै के आश गर्ने ? जनताले प्रश्न गर्न थालेका छन्,’ उनले भने ।

जातीय तथा सांस्कृतिक विविधतायुक्त बाहुल्यता भएको प्रदेश भएकाले भूगोल, संस्कृति र जनसंख्याको वृहत् हिस्साको प्रतिनिधित्व हुनेगरी नामकरण हुनुपर्ने बताए ।

‘यहाँको इतिहास, भूगोल, संस्कृति र सभ्यतासहित सबै जातजाति र समुदायको प्रतिनिधित्व हुनेगरी सबै जनताले साझा थलो महशुस गर्नेगरी तत्काल नामकरण गर्नुपर्छ’, पाठकले भने । यही अधिवेशनबाट प्रदेशको नामकरण गर्न उनले सरकारसँग माग गरेका छन् ।

सरकारले तत्काल सबैको सहमति हुने खालको नाम सदनमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ । उनले अगाडि प्रश्न गरे, अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ?’

प्रतिक्रिया
सम्बन्धित समाचार