विराटनगर : नेकपा एमालेकी प्रदेशसभा सदस्य कमला दर्नालले बालविवाह बढ्दै गएकाले यसलाई रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छिन् । संविधानमा नै बालविवाह, गैरकानुनी ओसारपसार र बन्धक राख्न नपाइने व्यवस्था उल्लेख भए पनि त्यसको पालना नभएको उनले बताईन् ।
बुधबार प्रदेश १ को प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै उनले कानुनमा उल्लेख भएपनि व्यवहारमा पालना नभएको बताईन् । उनले भनिन्, ‘कानुन एकातिर छ, व्यवहार अर्कैतिर ।’
बालविवाहका कारण १४-१८ वर्षसम्मका किशोरीहरु घरेलु हिंसाको चपेटामा पर्न बाध्य भएको उनको भनाई छ । बालविहाव न्यूनिकरण गर्नका लागि प्रदेश सरकारका तर्फबाट नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न लाग्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
यस्तै नेपाली कांग्रेसकी सांसद शोभा चेम्जोङले निजामति सेवामा अनिर्वाय ३३ प्रतिशत महिलाको सहभागीता हुनुपर्ने व्यवस्था गर्न माग गरेकी छिन् । उनले समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण फरक रहेकाले ती महिलाहरुका लागि पनि जीवन चलाउन सहज पर्ने खालका व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।