काठमाडौं : नेकपा (एमाले) को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि काठमाडौंमा हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अनेरास्ववियुले आफ्नो २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा गर्ने जानकारी दिएको हो ।
‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ हुन लागेको महाधिवेशनको फागुन २ गते दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले अनेरास्ववियुको आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास गरिने बताइन् । उनले सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदानबाट निर्वाचन गर्नेगरी प्रवन्ध मिलाइएको जानकारी दिइन् । उनले महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने जनाइन् । त्यस्तै अनुशासन, लेखा र निर्वाचन आयोगमा अध्यक्ष, सचिव र सदस्यसहित १५ जनाको समिति निर्वाचित गरिने उनले बताइन् ।
अध्यक्ष बरालले राज्य व्यवस्थालाई बलियो बनाउनका लागि स्ववियु निर्वाचन आवश्यक रहेको बताइन् । विश्वविद्यालयहरुका नीतिगत निर्णयहरुमा हस्तक्षेप गर्नका लागि स्ववियु निर्वाचन चाहिने उनको भनाइ छ । क्याम्पस प्रशासनहरुबाट विद्यार्थीहरुको भावनालाई सम्बोधन गराई निर्णय गराउनपनि स्ववियुको आवश्यकता रहेको उनले बताए । अध्यक्ष बरालले आफूहरु स्ववियु निर्वाचनको पक्षमा रहेको र त्यसको तयारीमा लागेको पनि बताए । अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनमा देशभरका क्याम्पसहरुबाट १ हजार पाँचसयभन्दा बढी प्रतिनिधिहरुको उपस्थिति हुने जनाइएको छ ।