विराटनगर : नागरिकता विवादका कारण सांसदसहित उपप्रधान तथा गृहमन्त्री गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुनः सोही पदमा नियुक्त गर्न माग गरेका छन् । लामिछानेले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
आफूलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्नेसमेत उनले चेतावनी दिएका छन् । गृहमन्त्री आफ्नो भागमा परेका कारण कुनै हालतमा छाड्न नहुने रास्वपाको अडान छ ।
रविनिकट स्रोतका अनुसार आजको भेटमा उनले यस विषयमा निर्णय गर्न प्रधानमन्त्री प्रचण्डलाई मंगलबार बेलुकीसम्मको समयसीमा दिएका छन् । गृह मन्त्रालय नपाएको अवस्था आजै सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाका एक नेताले बताए ।
त्यसो त रविलाई पुनः गैर सांसद मन्त्रीका रुपमा समावेश गर्न प्रधानमन्त्रीलाई एमालेले पनि दबाब दिइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई गृहमन्त्रीब नाउन योजनाबद्ध ढंगले दबाब दिइरहेको माओवादी नेताहरुले नै बताएका छन् । ओलीले हिजो प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटेका थिए ।