Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

‘सीएनआई कोसी एक्स्पो २०२३’ को तयारी अन्तिम चरणमा



विराटनगर : नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको ‘सीएनआई कोसी एक्स्पो २०२३’ को तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार विराटनगर-२ स्थित मेला स्थलमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रदर्शनीको तयारी अन्तिम चरण पुगेको जानकारी दिएको हो ।

अन्तराष्ट्रिय स्तराको कृषि तथा औद्योगिक प्रदर्शनीको माघ १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा करिब तीन करोड खर्च हुने आयोजकले जनाएको छ ।

परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले मेला ऐतिहासिक र अन्तराष्ट्रिय स्तारको भएको बताए । व्यापक मानिसहरुको सहभागीतामा मेला भव्य रुपमा सम्पन्न हुने उनले बताए ।

प्रदेश १ को भौगोलिक, जातीय र साँस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवलोकनकर्ताहरुलाई जानकारी दिने उदेश्यले एक्स्पो स्थलमा विभिन्न स्थानका संरचना निर्माण गरेको घिमिरेले बताए । हिमालदेखि पहाड हुँदै तराईको भू–बनोटलाई एक्स्पोका दर्शकहरुले हेर्ने र त्यसबाट नेपालको भौगोलिकदेखि साँस्कृतिक सम्पन्नताबारे ज्ञान प्राप्त गर्ने अपेक्षा गरिएको सीएनआईका अध्यक्ष घिमिरेले बताए ।

यस्तै एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका स्टल रहने भएका छन् । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहने आयोजकले जनाएको छ ।

कोसी एक्स्पो २०७९ मा ३७० स्टलहरु रहने बताइएको छ । मोरङ व्यापार संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल अटो मोवाइल्स एसोसिएसन, हिसान, व्याब्सन, नेपाल नर्सिङ संघ, मेडिकल एसोसिएसन र कोसी इलेक्ट्रेनिक्स मेलाका सहयोगी संस्थाहरु रहेका छन् ।

यस्तै एक्स्पोमा नेपालमन चर्चित ब्याण्डहरुको प्रस्तुतिसमेत रहेको छ । एक्पोमा राजु लामाको मंगोलियन हर्ट ब्याण्डदेखि सविन राईको फारोह ब्याण्ड, अभया सुब्बाको द स्ट्रिम इन्जिन्स, एकदेव लिम्बु, नितेश जंग कुँवर, समिर श्रेष्ठलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

मोरङ–सुनसरी औधोगिक क्षेत्रका पाँचवटा स्थानीय तहले सीएनआई कोसी एक्स्पो–२०७९ को उत्साहजनक प्रवद्र्धक गरेको आयोजकले बताएको छ । विराटनगर महानगरपालिकासहित औधोगिक करिडोरभित्रका बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिकाले आफ्नो पालिकाका घरेलु तथा साना उद्यमी तथा महिला उद्यमीहरुको प्रोत्साहनका लागि एक्स्पोको प्रवद्र्धनमा सहयोग गरेका हुन् ।

आफ्नो उत्पादनको प्रवद्र्धन गर्न उचित अवसर नपाएका त्यस्ता उद्यमीहरुलाई एक्स्पोमा स्टल राख्नका लागि पालिकाले निर्वाह गरेको भूमिका र सहयोग महत्वपूर्ण रहेको बताइएको छ ।

परिसंघले एक्स्पोलाई ऐतिहासिक बनाउन काठमाडौंबाट समेत प्रवद्र्धनका लागि सीएनआईका पदाधिकारीहरुसहितका सरोकारवाला निकायहरूबीच छलफल गरेको थियो । एक्स्पोमा नेपाल बाहेक भारत, चीन, बंगलादेश, पाकिस्तान लगायत अन्य मुलुकहरुबाट विशेष उत्पादनहरुको प्रदर्शनी र विक्रीका लागि स्टलहरु रहने जनाइएको छ ।

यस्तै मेला आयोजक समितिका संयोजक राजेन्द्र राठीले मेलालाई भव्यताका साथ सम्पन्न गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । पत्रकार सम्मेलनमा मुख्य प्रायोजक बरिष्ठ उधोगी महेस जाजु, दुहबी नगरपालिका र बुढीगंगा गाउँपालिकाका प्रमुख, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल लगाउतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार