विराटनगर : सर्वाेच्च अदालतबाट गैरनागरिक ठहरिएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता लिने प्रक्रिया पूरा गर्न आज जिल्ला प्रशासन कार्यालय जाँदैछन्।
‘रविज्यू नागरिकता लिनकाे लागि आज बिहान १० बजे प्रशासनमा जाने तयारी गर्नुभएकाे छ,’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मुकुल ढकालले भने।
लामिछानेले अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता लिने प्रक्रियामा नगएर पुरानै नगरिकता प्रयाेगमा ल्याएर झुटा विवरण दर्ता गरी पार्टी खाेलेकाे र निर्वाचनमा सहभागी भएकाे भन्दै सर्वाेच्चले शुक्रबार पुन: नागरिकता लिन आदेश दिँदै सांसद पद खारेज गरिदिएकाे थियाे।
रविले यसअघि वि.सं.२०५० सालमा पहिलाे पटक जिल्ला प्रशासन कार्यालय काठमाडाैँबाट नागरिकता लिएका थिए। तथापि, उनी अमेरिका गएर उतैकाे नागरिकता लिएपछि नेपाली नागरिकता स्वत निष्कृय भएकाे थियाे।
रविले वि.सं. २०७० साल अमेरिकी नागरिकता प्राप्त गरेका थिए। त्यसकाे पाँच वर्षपछि ०७५ सालमा साे नेपाल आएर अमेरिकी नागरिकता त्याग गरे पनि त्यसकाे निस्सा जिल्ला प्रशानसन दिएका थिएनन्। र, पुरानै नागरिकता प्रयाेग गरेका थिए, जुन नेपाली कानुनविपरीत हाे।