काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमतिअनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको प्रवक्ता कृष्णबहादुर महराले बताए।
‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिनुभएको छ,’ प्रवक्ता महराले भने। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत लिँदा काँग्रेस साथ दिएकाेले उसलाई पनि विश्वासमा लिएर राष्ट्रपति बनाउने कुरा उठेकाे उनले बताए।
गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री बन्दा सत्ता गठबन्धनमा राष्ट्रपति र सभामुख एमालेले लिने गरी सहमति भएकाे थियाे।