Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बिपीका उपकुलपति गिरी र विराट मेडिकलका सञ्चालक कार्कीविरूद्ध भ्रष्टाचार मुद्दा दायर



बिपीका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्की

विराटनगर : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

पदीय मर्यादा विपरित काम गरेको भन्दै कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

बदनियतसाथ कुनै पनि आधिकारिक निकायबाट प्राप्त नपाएको ओहदा पाए भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र उनले गरेको कार्य भ्रष्टाचार निवारण ऐनबमोजिमको कसुर भएकोले मुद्धा दर्ता गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजायसमेतको मागदाबी लिइएको छ ।’

यता विराट मेडिकल कलेजका सञ्चालक डा। ज्ञानेन्द्रमान सिंह कार्कीले भने गिरिलाई सहयोग गरेको भन्दै मतियारको रुपमा अख्तियारले मुद्दा दायर गरेको छ । गिरीले नपाएको ओहदा प्रयोग गर्न कार्कीले मतियारको भूमिका खेलेको अख्तियारको आरोप छ ।

‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही ऐनको दफा २२ बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार