विराटनगर बसपार्क
विराटनगर : मोरङ प्रहरीले विराटनगरस्थित बसपार्कबाट ५० किलो गाँजा बरामद गरेको छ । शनिबार बेलुका तरकारी बोक्ने टेम्पोबाट प्रहरीले गाँजा बरामद गरेको हो ।
मोरङ प्रहरीका डीएसपी दिपक श्रेष्ठका अनुसार को २ ख २४२२ नम्बरको टेम्पोमा साग र तेजपत्ताले ढाकेर गाँजा अनलोड गर्दै गरेको अवस्थामा बरामद गरिएको हो । प्रहरीले शंका लागेपछि चेकजाँच गर्दा तीन बोररा गाँजा भेटिएको जनाएको छ ।
प्रहरीले गाँजा ओसारपसारमा संलग्न रहेका दुई जनालाई नियन्त्रणमा लिएको छ । टेम्पो चालक मोरङको बुढीगंगा गाउँपालिकाका ४६ वर्षीय रोहितकुमार थापा र धनकुटाको सहिदभुमी गाउँपालिका ४ का ४४ वर्षीय यज्ञप्रसाद राईलाई पक्राउ गरेको श्रेष्ठले बताए । उनका अनुसार उक्त गाँजा धनकुटाबाट ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेको दुवै जनाविरुद्ध थप अनुसन्धान सुरु गरी लागूऔषध ओसारपसारको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।