विराटनगर : सत्ता गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार तीन जना मन्त्रीहरु सरकारमा पठाउने भएको छ । सत्तारुढ दलहरूको सहमति अनुसार रास्वपाले तीन मन्त्री र एक राज्य मन्त्री पाउने भएको छ।
रास्वपाबाट यसअघि नै पार्टी सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेका छन्। अब उसले गृह, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्रीहरू पठाउने छ । राज्यमन्त्रीको भने टुंगो लागेको छैन ।
रास्वपाले विषय विज्ञताका आधारमा मन्त्री बनाउने भएको छ । रास्वपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा काठमाडौं ६ बाट निर्वाचित शिशिर खनाललाई पठाउने भएको छ।
यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल (डिपी) लाई पठाउने तयारी छ।
उनीहरूलाई आजै मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको तयारी छ ।