विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ जीवन आचार्यलाई प्रदेश १ को मन्त्री बनाएपछि सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले गम्भीर आपत्ती जनाएको छ । पार्टीमा लामो समयदेखि योगदान गरेका नेताहरु हुँदाहुँदै आचार्यलाई मन्त्री नियुक्त गरिनुले नेतृत्वप्रतिको जनविश्वास घटाउने तथा पद र शक्तिको लागि निर्लज्ज निर्णय गर्ने बिकृत अभ्यासलाई प्रेरित गरेको फाउण्डेसनले आरोप लगाएको छ ।
फाउण्डेसनका महासचिव अटल आचार्यले एक विज्ञप्ती जारी गर्दै जनभावना र अहिलेको वस्तुगत आवश्यकतालाई ख्याल नगरी जातीय, क्षेत्रीय, वर्गीय तथा योगदान एवं लाल र निपूण, सबै हिसावले आचार्यभन्दा धेरै योग्य अन्य संसदलाई पाखा लगाइएको आरोप लगाइएको छ ।
औपचारिकता र अमूर्तताको बहसले सुद्धिकरण र रुपान्तरण सम्भव नभएको बताउँदै यसको सम्पूर्ण जिम्मेवारी कमरेड प्रचण्डले पर्ने विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘यो माओवादी संस्कृती हैन् । औपचारिक तर्क गरेर यसको दोष अरू कसैलाई दिन सकिएला तर त्यसो गर्नु सर्वथा गलत हुन्छ, औपचारिकता र अमूर्तताको बहसले सुद्धिकरण र रुपान्तरण सम्भव छैन। व्यवहारतः यसको सम्पूर्ण जिम्मेवारी कमरेड प्रचण्डलाई जान्छ र उहाँले नै लिनु पर्छ ।’
माओवादी आन्दोलनमा नेतृत्वको योगदान उल्लेख्य रहे पनि आन्दोलन र परिवर्तनको लागि हजारौं सपूतहरूको बलिदान र लाखौंको समर्पण विना नेतृत्वको योगदान सम्भव नहुने बताइएको छ ।
यस्तै विज्ञप्तीमार्फत फाउण्डेसनले पार्टी अध्यक्षर्ला उक्त निर्णय शिघ्रतापूर्वक सच्याउन अग्रहसमेत गरेको छ ।
