Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा तेस्रो नेवा: महोत्सव माघ ६ र ७ गते हुने



विराटनगर । विराटनगरमा तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट हुने भएको छ ।
झी पुचः ले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी माघ ६ र ७ गते तेस्रो नेवाः मोहत्सव हुने जानकारी गराएको हो ।
झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव हुने भएको हो । महोत्सव नेवारी खानाका परिवारको साथै अन्य विभिन्न सामुदायहरूको परिवार पनि राखिने कार्यक्रम संयोजक तथा झी पुचः को वरिष्ठ उपाध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा २० वटा खानाको परिकारसहित साँस्कृतिक कार्यक्रम पनि हुने उनले बताए । ‘खानाको परिकार बाहेक पर्यटक हाट पनि हुनेछ । यहाँ स्वेदशी उत्पादनहरू अलैची, भोजपुरको खुकुरी, छुर्पीलगायतका स्टलहरू पनि हुनेछ,’ उनले भने, ‘हामीले अपाङ्गता भएका व्यक्तिहरूले निमार्ण गरेका हस्तकलाको सामाग्रीहरूको पनि स्टल राख्ने तयारी गरिएको छ । त्यसको लागि छलफल भइरहेको छ ।’
माघ ६ गते तीन बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । दुई दिनसम्म संचालन हुने महोत्सवमा ५ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखेको झीः पुच का अध्यक्ष हरिबहादुर श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार