विराटनगर : नेपाली कांग्रेसका नेता तथा प्रदेश १ का प्रदेशसभा सदस्य केदार कार्कीले संसद सेटिङमा चलेको आरोप लगाएका छन् । बिहीबार प्रदेशसभामा पत्रकार सम्मेलन गर्दै कार्कीले संसदीय प्रक्रिया र मर्यादा मिचेर संसद चलाइएको आरोप लगाए ।
प्रदेशसभा सुरु भएको समयबाट नै संसदमा रहेका दलका नेतालाई बोल्न दिने परम्परा एमालेको सहमतिमा प्रदेश सचिवले तोडेको उनले बताए । संसद चलाउने विषयमा छलफल नभएको र एकलौटी गर्न खोजिएको उनको आरोप छ ।
‘संसदको यो दोस्रो कार्यकाल सुरु भइसकेपछि अझ राम्रो हुनु पर्नेमा संसद नियमावलीको धज्जी उडाएर सेटिङ गरियो,’ उनले भने, ‘नियमावलीमा भएको व्यवस्था विपरीत २५ गते सदन चलाइएको छ ।’
आज बसेको प्रदेशसभाको तेस्रो बैठकमा आफुलाइ बोल्न नदिएको बताउँदै उनले भने प्रदेशसभाका सचिव गोपालप्रसाल पराजुलीको सेटिङमा काम गरेको आरोप लगाए । मुख्यमन्त्रीको छायाँमा पराजुलीले काम गरेको उनले आरोप लगाएका छन् ।
सर्वदलीय बैठक गरेर काम गरिएको भए पनि त्यँहा आफ्नो दलको नेताको समेत संग्लनता रहेको उनले बताए । गलत भइरहे सबै संसद मिलेर प्रतिवाद गर्ने बताउदै उनले भने, ‘आफ्नै दलका नेताले गल्ती गरेर सहमति जनाए पनि म बोलिरहन्छु ।’