Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यी हुन् सात प्रदेशका नयाँ मुख्यमन्त्री


  • Purbeli Press
  • बुधबार, पुष २७ २०७९

विराटनगर : बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै सातवटै प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । प्रदेश १, बाग्मति र गण्डकीमा यसअघिनै मुख्यमन्त्री नियुक्त भएर शपथग्रहण पनि भइसकेको छ ।

एकाएक राष्ट्रिय राजनीतिमा आएको फेरबदलका कारण नेपाली कांग्रेस सत्तापक्षबाट प्रतिपक्षमा मात्र पुगेको छैन्, सातै प्रदेशमा सरकारसमेत गुमाएको छ । सातवटै प्रदेशमा हाल कायम रहेको गठबन्धनबाट मुख्यमन्त्री बनेका छन् ।

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री पाएको छ । बाग्मती र कर्णालीमा माओवादीले पाउँदा मधेस प्रदेशका जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री पाएको छ ।

प्रदेश १ : हिक्मतकुमार कार्की
प्रदेश नम्बर १ का नेकपा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका छन् । उनले गत सोमबार शपथग्रहण गरिसकेका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका कार्की झापाको क्षेत्र नम्बर ५ को प्रदेश १ बाट दोस्रो पटक निर्वाचित भएका हुन् ।

प्रदेश सरकारको पहिलो साढे तीन वर्ष उनी आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । प्रदेशसभाका ९३ संसदमध्ये ६० जनाको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । कार्कीलाई एमालेका ४० सहित नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका एक संसदको समर्थन छ ।

प्रदेश १ मा आलोपालो सरकारको नेतृत्व पाउनुपर्ने अडान राख्दै सत्ता साझदेर दल नेकपा माओवादी केन्द्रले तत्काल सरकारमा सहभागी नहुने भएपछि उनले माओवादी विना सानो आकारको मन्त्रीमण्डल विस्तार गरेका छन् । कार्कीले एमाले, राप्रपा र जसपाबाट एक÷एक जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

मधेस प्रदेश : सरोजकुमार यादव
मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादव नियुत्त भएका छन् । उनलाई बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुत्त गरेका हुन् ।

अघिल्लो कार्यकालमा मधेस प्रदेशको सभामुख रहेका यादव ६ दल र २ जना स्वतन्त्र संसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका ८ र २ जना स्वतन्त्र गरी ६३ संसदको समर्थन छ ।

यादव बारा १(२) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन् । केन्द्रीय सहमतिका आधारमा उनी पहिलो साढे दुई वर्ष मुख्यमन्त्री बन्नेछन् । त्यसपछि सत्ता साझेदार जनमतबाट मुख्यमन्त्री बन्ने केन्द्रीय सहमति छ ।

बाग्मती प्रदेश : शालिग्राम जम्मरकट्टेल
नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल बाग्मती प्रदेशको मुख्यमन्त्री बनेका छन् । उनले मंगलबार शपथग्रहण गरिसकेका छन् । जमकट्टेलले नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धब थापा मन्त्रीसमेत नियुक्त गरेका छन् ।

उनलाई नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेल धादिङ क्षेत्र नं १ को प्रदेशसभा १ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । अघिल्लो पटक पनि मुख्यमन्त्रीको लाइनमा भए पनि बन्न सकेका थिएनन् ।

केन्द्रीय गठबन्धनको भागबन्डा अनुसार बाग्मती प्रदेश सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रले आलोपालो चलाउने सहमति छ । सोही अनुसार जम्मकट्टेल करिब साढे दुई वर्ष बाग्मतीको मुख्यमन्त्री कायम रहेछन् । त्यसपछि एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्नेछन् ।

गण्डकी प्रदेश : खगराज अधिकारी
गत सोमबार मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका खगराज अधिकारीले पद तथा गोपनीयताको शपथग्रहण गरिसकेका छन् । प्रदेशमा उनले तत्कालका लागि तीन जना मन्त्री नियुक्त गरेका छन् । नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेकी सीतादेवी सुन्दास र राप्रपाका पंचराम गुरुङ उनको मन्त्रीमण्डलमा छन् । उनीहरु बिना विभागीय मन्त्री हुन् ।

संघीय सरकारको गृहमन्त्री र स्वास्थ्यमन्त्री भइसकेका अधिकारी मुख्यमन्त्री बन्नकै लागि प्रदेशमा झरेका थिए । उनलाई एमालेका २२, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ तथा स्वतन्त्र संसद दीपक मनाङेको समर्थन छ ।

कास्कीको निर्वाचन क्षेत्र १ को प्रदेशसभा १ बाट उनी निर्वाचित भएका हुन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा अधिकारीलाई ३३ संसदले समर्थन गरेका छन् ।

लुम्बिनी प्रदेश : लीला गिरी
नेकपा एमालेका नेता लीला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई बुधबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । ८७ सदस्यीय प्रदेशसभामा उनलाई ५८ जना प्रदेशसभा सदस्यको समर्थन छ ।

एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका चार÷चार, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका तीन÷तीन र दुई स्वतन्त्र संसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका गिरी रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेश १ बाट दोस्रो पटक निर्वाचित प्रदेशसभा सदस्यमा हुन् । अघिल्लो कार्यकालमा उनले प्रदेशको उद्योग वन, पर्यटन, वातावरणमन्त्री, आन्तरिक मामिला तथा कानुनमन्त्री र स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी निभाएका थिए ।

कर्णाली प्रदेश : राजकुमार शर्मा
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । बुधबार माओवादी र एमालेबीच कर्णाली सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएसँगै उनी २५ संसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ जना आवश्यक पर्छ ।

शर्मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत हुन् । उनी रुकुम पश्चिम (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । कर्णालीमा माओवादी र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ । पहिलो साढे दुई वर्ष माओवादीका शर्मा र त्यसपछि एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नेतृत्व गर्ने गरी सहमति भएको छ ।

सुदूरपश्चिम प्रदेश : राजेन्द्रसिंह रावल

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । २९ जना संसदको समर्थनमा उनलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

रावललाई एमाले १० सहित माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपा एक गरी २९ संसदको समर्थन छ । एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज समेत रहेका रावल समानुपातिक प्रदेश सभा सदस्य हुन् ।

केन्द्रीय भागबन्डा अनुसार सुदूरपश्चिममा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सहमतिअनुसार पहिलो साढे दुई वर्ष रावल मुख्यमन्त्री हुनेछन् भने त्यसपछि माओवादीका खगराज भट्ट मुख्यमन्त्री बन्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार