विराटनगर : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले २०५१ सालमा मनमोहन अधिकारीले पाएको विश्वासको मत र प्रचण्ड सरकारले पाएको विश्वासको मतको तुलना गर्न नमिल्ने बताएका छन् । मंगलबार नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
तत्कालीन समयमा मनमोहन नेतृत्वको सरकार अल्पमतमा रहेका कारण नेपाली कांग्रेसले विश्वासको मत दिए पनि अहिलेको परिस्थिति त्यस्तो नभएको उनको भनाई छ ।
सामाजिक सञ्जालमा लेख्दै उनले भने, ‘नमिल्ने तुलना नगरौँ, २०५१ सालमा संसदको सबैभन्दा ठूलो दलका नेताको रुपमा मनमोहान अधिकारीको अल्पमतको सरकार थियो, अहिले दलहरुको स्पष्ट कहुमत भएको प्रचण्ड सरकार रहेको हो ।’
अहिले संसदको सबैभन्दा ठूलो दलको नेताले बहुमत नपाए पनि बैकल्पिक सरकार निर्माणको बाटो खुल्ला रहेको उनले बताएका छन् । अहिलेको जस्तो सरकार निर्माणको बैकल्पिक बाटो नभएका कारण ०५१ सालमा मनमोहनलाई कांग्रेसले विश्वासको मत दिनुपरेको उनले बताए ।