सिर्जना दनुवार, सिर्जना राई, तारा ढकाल र मालती सुब्बा (बायाँबाट क्रमश)
विराटनगर : सत्ता साझेदार दलहरुबीचको निर्णय अनुसार प्रदेश १ को मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई दिने सहमति छ । सोही अनुसार एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् भने सभामुखमा माओवादी संसद बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ । औपचारिक घोषणा हुन बाँकी रहे पनि गौतम लगभग सभामुखमा निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रदेश भागवण्डामा सत्ता साझेदार दलबीच भएको सहमतीअनुसार सभामुख माओवादी केन्द्रको भागमा परेसँगै एमालेले उपसभामुख पाउने पक्का छ । प्रदेशमा उपसभामुख निर्वाचनका लागि २९ गते बस्ने प्रदेशसभाको बैठकले कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ । उपसभामुखका लागि ३० गते निर्वाचनको मिति तय भएको छ ।
संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ ।
संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला र फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ व्यवस्था छ । सभामुखका लागि पुरुषको उम्मेदवारी परेसँगै उपसभामुखमा महिला उम्मेदवार बनाउनुपर्ने अवस्था छ ।
उपसभामुख पाएको नेकपा एमालेमा उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई, मोरङकी मालती सुब्बा र झापाकी तारा ढकालको नाम चर्चामा छ । उपसभामुखका लागि पार्टीभित्र चार जनाको नाम चर्चामा आएपनि दनुवार र राईमध्ये एकलाई उपसभामुख बनाउने तयारी रहेको एमालेका एक प्रदेशसभा सदस्यले जानकारी दिए । चारै जना एमालेको समानुपातिक संसद हुन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना प्रदेश संसद आवश्यक पर्छन् । हाल कायम रहेको गठबन्धनमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० जना प्रदेशसभा सदस्य छन् ।