विराटनगर : प्रदेश १ सभाको सभामुखमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतम निर्विरोध निर्वाचित हुने भएका छन् ।
सभामुखको उम्मेदवारी मनोनयन दर्ताका लागि प्रदेशसभा सचिवालयले दिएको समय अवधिभित्र गौतमको एकल उम्मेद्वारी परेपछि निर्विरोध निर्वाचित हुने भएका हुन् ।
प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको छैन् । उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी र समर्थकमा नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्माले रहेका छन् । उनलाई प्रतिपक्षमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको पनि समर्थन छ । नेकपा एसका संसद कमल जवेगु पनि उनको समर्थक छन् ।
गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र २ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
प्रदेशसभा सचिवालयले उम्मेदवारी दर्ताका लागि दिएको समयसम्म गौतमको एकल उम्मेदवारी परेको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
सभामुखका लागि प्रदेशमा पुस २८ गते बिहान ११ बजे निर्वाचनको मिति तोकिएको थियो ।
केन्द्रीय भागबन्डा अनुसार प्रदेश १ मा मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रलाई दिने सहमति छ । केन्द्रको सोही निर्णयअनुसार नेकपा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुत्त भइसकेका छन् भने सभामुखमा एमालेले माओवादीलाई समर्थन गरेको छ ।
योसँगै गौतम प्रदेश १ को दोस्रो सभामुख बन्ने भएका छन् । यसअघि नेकपा एमालेका प्रदीपकुमार भण्डारी प्रदेशसभाको पहिलो सभामुख थिए ।