विराटनगर : नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता उद्धव थापाले जनतामुखी काम गर्न सरकारलाई सुझाव दिएका छन् । मंगलबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा बोलदै उनले प्रदेश सरकारले आगामी दिनका जनताको भावनाअनुरुप काम गर्नुपर्ने बताए ।
सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपने बताउँदै थापाले प्रदेश सरकारका हरेक गतिविधिलाई सफल बनाउन आफूहरु साथ दिन तयार रहेको बताए । सत्ताको आड र बहुमतको दम्भबाट सरकार चलाउन कोशिस नगर्न उनले मुख्यमन्त्रीलाई सुझावसमेत दिएका छन् ।
संघीयतालाई खराब देखाएर खारेजीको माग गर्नु अस्वभाविक भएको उनको भनाई छ । संघीयताले जनतालाई तीन तहको सरकारसँग प्रत्यक्ष जोडेर जनमुखी काम गर्न सहयोग पुर्याएको थापाले बताए । संघीयता खारेज गर्नु भनेको संविधानको खारेजी भएको उनको तर्क छ ।
थापाले विगतको सरकारले प्रदेशको नाम राख्न नसक्दा विभिन्न आरोप खेप्नु परेको बताउँदै नामकरण गर्न सरकारलाई आफ्नो पार्टीले साथ दिने बताए । ‘अघिल्ला संसद ज्युहरुले अझै पनि नामकै कारणले गाली खाइरहनु भएको छ, त्यो आरोप र गाली हामीले पनि खान नपारोस्,’ थापाले भने, ‘सरकारले नामकरणको अगुवाई लिनुपर्छ । सबैको साझा सहमतिमा सही नाममा सरकारले पहल गरोस् । नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहे पनि नामकरण गर्ने विषयमा सहयोग र समर्थन गर्न तयार छ ।’