काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान बसेको पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका थिए। तर, पदाधिकारीहरूले आपत्ति जनाएपछि सर्वसम्मत निर्णय हुन सकेन। संसद् भवनमै बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।
तर, बैठकमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, बलबहादुर केसीले फरक मत राखेका थिए। कार्यसम्पादन समितिको बैठकपछि अहिले संसदीय दलको बैठक बसेको छ।
आगामी राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचनलाई ध्यानमा राख्दै कांग्रेसले यस्तो निर्णय लिएको हुन सक्ने एक केन्द्रीय सदस्यले बताए।