विराटनगर : प्रदेश १ मा पहिलो पटक विना विभागीय मन्त्री नियुत्त भएका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो मन्त्रीपरिषद्मा तीन जना विना विभागीय मन्त्री नियुक्त भएका हुन् ।
प्रदेशमा नेकपा एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाबाट निमर्ला लिम्बू नियुक्त भएका छन् । विना विभागीय मन्त्री भएपछि उनीहरु कहाँ बस्ने भन्ने अन्योल थियो ।
तर, विना विभागीय मन्त्रीहरुले मुख्यमन्त्री कार्यालयमा रहेका विभिन्न व्यक्तिहरुको कार्याकक्षमा पदभार ग्रहण गरेका छन् । तिलकुमार मेन्याङ्बाले प्रमुख सचिवको कार्यकक्षमा, भक्ति सिटौलाले जनसम्पर्क सल्लाहकार र निर्मला लिम्बूले राजनीतिक सल्लाहकारको कार्यकक्षमा पदभार ग्रहण गरेका छन् ।
धेरैजसो मन्त्रालयका कर्मचारीहरु हिजै मन्त्रीको स्वागतका लागि तयारी अवस्थामा रहेको प्रदेशका एक सचिवले बताए । ती सचिवले भने, ‘धेरैजसो मन्त्रालयमा हिजो मन्त्री आउँछन् भनेर कर्मचारीहरु तयारी अवस्थामा थिए तर, विना विभागीय मन्त्रीहरु नियुक्त भएपछि भने कर्मचारीहरुलाई पहिलो दिन मन्त्री स्वागत गर्नु परेन् ।’
संरचनाको अभाव भएको प्रदेशमा मन्त्रीहरु कहाँ बस्ने भन्ने समस्या देखिएको उनले बताए । ‘मन्त्रालय नतोकेपछि मन्त्रालय पनि जानु भएन्, कुनै मन्त्रालयले मन्त्री बस्ने क्वाटर लिएको छ भने पनि जान गाह्रो भएको छ,’ ती सचिवले भने ।