विराटनगर : नेकपा (माओवादी केन्द्र) ले प्रदेश १ सरकारमा नजाने घोषणा गरेसँगै एमालेले माओवादीबिनाको सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी गरेको छ ।
नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो २ बजे शपथ लिएसँगै एमाले र अन्य सत्ता साझेदार दललाई समेटेर सरकार बनाउने तयारी गरेका हो ।
नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले माओवादी सरकारमा सहभागी नभएपनि आजै सानो आकारको मन्त्रीमण्डल विस्तार हुने बताए ।
आज बिहान अचानक नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा नजाने घोषणा गरेका छन् । माओवादी सरकारमा सहभागी नहुने भएसँगै प्रदेश १ मा नयाँ राजनीतिक घटनाक्रम विकास भएको हो ।
सचेतक भण्डारीले राप्रपा र जसपालाई समेटेर मन्त्रीमण्डल विस्तार गरेर अघि बढ्ने जानकारी दिए । नेकपा एमालेले पहिलो चरणमा दुई जना र अन्य पार्टीबाट १–१ जना मन्त्री बनाउने तयारी गरेको छ । तर, को को मन्त्री बनाउने भन्ने सार्वजनिक भएको छैन् ।