विराटनगर : प्रदेश १ को सरकार गठनमा नेकपा माओवादी केन्द्रले एमालेलाई सहयोग गर्ने भएको छ । आइतबार दिउँसो बसेको माओवादी संसदीय दलको बैठकले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक संसदका अनुसार माओवादीले एमाले नेतृत्वमा सरकारमा जाने र मुख्यमन्त्रीमा दाबी पेश गरेपछि मात्रै पार्टीबाट सरकारमा कसलाई पठाउने भन्ने विषयमा छलफल गर्ने छ ।
मुख्यमन्त्री नियुत्ति भएपछि मात्र माओवादीले संसदीय दलको उपनेता र प्रमुख सचेतक चयन गर्ने ती संसदले बताए ।
एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दिउँसो ४ बजे प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते एक साताको समय दिएर आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको लागि दावी पेश गर्न आह्वान गरेका थिए । कुनै दलले स्पष्ट बहुमत नपाएकाले नेपालको संविधानको धारा १६८ उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा दावी पेश गर्न उनले आह्वान गरेका थिए ।
९३ सदस्यीय प्रदेशसभामा एमालेको गठबन्धनसँग ६० संसद छन् । एमाले ४० माओवादीका १३, राप्रपाका ६ र जसपाका १ संसद रहेका छन् । नयाँ सरकार गठनका लागि बहुमत र्पुयाउन ४७ सांसद आवश्यक पर्छ ।