विराटनगर : नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दावी पेश गर्ने भएका छन् । प्रदेशसभाका बहुमत संसदको समर्थनमा कार्कीले आज दिउँसो ४ बजे दावी पेश गर्ने भएका हुन् ।
कार्कीलाई मुख्यमन्त्री बनाउन ४ दलको समर्थनमा प्रदेश प्रमुखसमक्ष दिउँसो ४ बजे दाबी पेस गर्ने तयारी भइरहेको एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । उनका अनुसार अन्य बाँडफाँडको विषयमा भने छलफल भएरहेको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते एक साताको समय दिएर आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको लागि दावी पेश गर्न आह्वान गरेका थिए । कुनै दलले स्पष्ट बहुमत नपाएकाले नेपालको संविधानको धारा १६८ उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा दावी पेश गर्न उनले आह्वान गरेका थिए ।
९३ सदस्यीय प्रदेशसभामा एमालेको गठबन्धनसँग ६० संसद छन् । एमाले ४० माओवादीका १३, राप्रपाका ६ र जसपाका १ संसद रहेका छन् । नयाँ सरकार गठनका लागि बहुमत र्पुयाउन ४७ सांसद आवश्यक पर्छ ।