विराटनगर : विराटनगर महानगरपालिका-२ मा रहेको शंकरपुर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । रोटरी क्लब अफ, विराटनगर मिडटाउनको सहयोगमा विद्यार्थीलाई कपडा वितरण गरिएको हो ।
करिब ५० जना विद्यार्थीहरुलाई ट्राउजर र ज्याकेट वितरण गरेको विद्यालयले जनाएको छ । यस्तै सोही अवसरमा विराटनगरका उद्योगी एवं समाजसेवी अशोककुमार अग्रवालले विद्यार्थीहरुका लागि चाउचाउ, विस्कुट र चक्लेट पनि विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
११ वर्षदेखि मिडटाउनले शंकरपुर आधारभूत विद्यालयलाई विभिन्न तवरबाट सहयोग गर्दै आएको छ । मिडटाउनले विद्यालयको पूर्वाधार विकासदेखि खेलकुद र शैक्षिक समाग्रीसमेत सहयोग गर्दै आएको उद्योगी तथा समाजसेवी नन्दकिशोर राठीले जानकारी दिए ।
पछिल्ला दिनमा तराई क्षेत्रमा अत्याधिक चिसो बढ्दै गएका कारण विद्यार्थीहरुलाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरेको उनले बताए ।
कपडा वितरण कार्यक्रममा मिडटाउनका अध्यक्ष रामकुमार श्रेष्ठ, पूर्वअध्यक्ष भैरव रिजा, जयकमल अग्रवाल, विराटनगर वडा नम्बर २ का वडा अध्यक्ष कुमार पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामअवतार अग्रवाल, प्रधानाध्यापक दुर्गा पोखरेललगायतको उपस्थिति रहेको थियो ।