विराटनगर : प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सरकनर गठनका लागि पुस २४ गतेभित्र दावी पेश गर्न आव्हान गरेसँगै दलहरूले सरकार गठनका चासो देखाएका छन् । केन्द्रीय समिकरण अनुसार प्रदेश १ मा पनि एमाले नेतृत्वको नयाँ गठबन्धनको सरकार बन्ने निश्चित छ ।
प्रदेश १ को मुख्यमन्त्रीमा नयाँ गठबन्धनबाट प्रदेशसभाको सबैभन्दा ठुलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादीकेन्द्रले आआफ्नै दाबी गरेका छन् ।
मुख्यमन्त्रीमा एमालेबाट हिक्मतकुमार कार्की र माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका इन्द्रबहादुर आङ्बोको दाबी छ । उनीहरु दुवैजना संसदीय दलका नेता हुन् ।
एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका हिक्मत कार्कीले प्रदेशको नेतृत्वमा आफ्नो दावी रहेको बताए । प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत नपाएकाले अहिले केन्द्रमा बनेको गठबन्धनले गरेको निर्ण कार्यन्वयन गर्नु आफ्नो दायित्व भएको उनले बताए ।
सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे पुस २४ अगावै निर्णय हुने उनको भनाई छ । ‘प्रदेश प्रमुखबाट सरकार गठनको आह्वन भएसँगै अब हामी गठबन्धनमा रहेका दलहरु छलफल गरेर टुंगो लगाउँछौँ,’ उनले भने ‘संभवत प्रदेशमा मेरै नेतृत्वमा सरकार बन्छ, त्यस विषयमा केही कुरा सहमति भइसकेको छ ।’ मुख्यमन्त्रीको टुंगो लागेपछि मात्र अन्य मन्त्रालयको बाँडफाँडका बारेमा आन्तरिक छलफल हुने कार्कीले बताए ।
अहिलेको सत्ता गठबन्धन बाहिर रहेको दल नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने उनले बताए ।
यस्तै माओवादी केन्द्रका आङ्बोले अघिल्लो पटक सरकारको नेतृत्व गर्न एमालेलाई आफूहरुले सहयोग गरेका कारण यसपटक प्रदेशमा माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने बताए । यद्यपी सरकारको नेतृत्वबारे केन्द्रले गरेको निर्णय आफूहरुलाई स्विकार्य हुने उनले बताए ।
आङ्बो भन्छन्, ‘केद्रको निर्णलाई मानेर अघि बढ्छौ, तर १ नं प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्नुपर्छ भनेर दावी चाहिँ रहन्छ ।’ प्रदेशसभाको सबैभन्दा ठुलो दल भएका कारण पनि एमालेले मुख्यमन्त्रीको दावी गर्नु जायज भएको आङ्बोको भनाई छ ।
प्रदेशसभामा नेकपा एमाले ४०, नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, राप्रपा ६, नेकपा एकीकृत समाजवादी ४ र जसपाका एक संसद छन् । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ संसद आवश्यछ पर्छ ।
यस्तै प्रदेश १ प्रदेशसभाको पहिलो बैठकबाट प्रदेश निजामती सेवा अध्यादेश २०७९ टेबुल गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । आइतबार भएको पहिलो बैठकबाट प्रदेशसभा नियमावली पहिलो संशोधनलाई स्विकार गर्ने र प्रदेश निजामती सेवा अध्यादेश २०७९ टेबुल गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
प्रदेशसभा नियमावलीको संशोधनसहितलाई स्विकार गर्न प्रदेशसभा सदस्य भीम पराजुलीले प्रस्ताव र लिलाबल्लभ अधिकारीले समर्थन गरेका थिए ।
प्रदेश सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संसोधन अध्यादेश २०७९ जारी गरेको थियो । यस्तै बैठकले मन्त्री पदमै वाहल रहेका बेला निधन हुन पुगेका वनमन्त्री शेखरचन्द्र थापाप्रति शोक प्रस्ताव पारित गरेको छ ।
अब नयाँ सरकार बनेपछि उक्त अध्यादेशमा छलफल र अरु प्रक्रिया संसदले सुरु गर्नेछ । प्रदेशसभाको अर्को बैठक पुस २५ गते दिउँसो १ बजे बोलाइएको छ ।