विराटनगर : नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ का प्रदेशसभा सदस्य अमृत अर्यालले संसदीय दलको नेतामा भएको आफ्नो पराजयको सम्पूर्ण दोष पूर्व सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लगाएका छन् । अर्यालले दलको नेतामा कार्कीकै डिजाइनमा आफूलाई हराएर मानमर्दन गरेको बताए ।
शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले २०३५ सालदेखि जेलनेल भोग्दै निरन्तर पार्टीमा लाग्दा नेताहरुले अपमान गरेको बताए । ‘म ०३५ सालदेखि निरन्तर नेपाली कांग्रेसमा सक्रिय भएर लागिरहेको छु, यो समयमा म ८ पटक जेल परेको छु,’ उनले भने, ‘पछिल्लो समयमा मलाई पार्टी सभापति शेरबहादुर देउवा र ज्ञानेन्द्रबहादुर कार्कीको टिम आश्वासन दिनुभएको थियो र मैले उठ्ने तयारी गरे तर उहाँहरुले त्यो अनुसार काम गर्नु भएन् ।’
आफ्नो पक्षमा थोरै मत आउँछ भन्ने पूर्व जानकारी हुँदाहुँदै पनि आफू पार्टीभित्र भएको अन्यायका विरुद्धमा दलको नेताका लागि प्रतिस्पर्धामा आएको बताए । पार्टीमा टिकट दिनुमात्र अवसर नभएको अर्यालको भनाई छ ।
आफू निरन्तर पार्टीमा लागेको पूरानो नेता भएको बताउँदै अर्यालले भने, ‘मोरङको सभापति, दुई पटक केन्द्रीय सदस्य, संविधानसभा सदस्यहुँदै हाल प्रदेशसभा सदस्य छु । मैले पार्टीका लागि धेरै त्याग गरेको छु । बिपी कोइरालासँग पनि काम गरेको म पुरो पुस्ता हुँ । म हरेक गतिविधिको आन्दोलनमा उभिएको मान्छेलाई अन्याय गरे । मैले यही अन्यायको विरुद्ध विगुल फुक्न चुनावका उठेको हो ।’
आफ्नो समूहका संसदहरुलाई नेताहरुले निरन्तर दवाव दिएको उनको आरोप छ ।
प्रदेश १ मा नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि शुक्रबार भएको निर्वाचनमा देउवा निकट मानिएका अर्यालले दुई मत मात्र प्राप्त गरेका थिए । प्रदेशमा कांग्रेसको संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला समूहका उद्धव थापा १८ मतसहित निर्वाचित हुँदा शेखर कोइराला समूहका केदार कार्कीले ९ मत ल्याएका थिए । थापालाई देउवा समूहले समर्थन गरेपछि अर्याल एक्लिएका थिए ।