Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश खारेजीको मुद्धा उठाउन पनि प्रदेशकै भत्ता खानुपर्यो : राप्रपा प्रवक्ता सिटौला



विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा नवनिर्वाचित प्रदेश १ का प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले प्रदेशसभा खारेज गर्ने आफ्नो पार्टीको एजेन्डा कार्यान्वयन गर्न लागिपर्ने बताएका छन् ।

सोमबार प्रदेशसभा सदस्यको शपथग्रहण लिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सिटौलाले घरभित्रै पसेर घर भत्काउन सकिने भएकाले प्रदेशसभा खारेज गर्नका लागि प्रदेशसभा सदस्यको हैसियले भूमिका खेल्ने बताए ।

प्रदेशसभाले नेपाली जनतालाई आर्थिक भारमात्रै थपेको र विदेशसँग ऋण लिएर प्रदेशसभाका सदस्यहरूलाई तलब भत्ता खुवाउनु यो वाहियात भएको उनको तर्क छ । केन्द्र सरकारले स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने उनले बताए ।

प्रदेश खारेजीको कुरा उठाउने अनि त्यही प्रदेशसभाको सदस्य भएर भत्ता खाने ? भन्ने प्रश्नमा सिटौलाले भने, ‘भत्ता खानेमा म पनि पर्छु, तर स्वाभावैले बिगार्न लाग्दा पनि भोको पेट त हुँदैन । घर भत्काउन पनि भोको बसेर भत्काउन सकिँदैन नि त ?’

प्रदेशमा मन्त्री बन्ने परिस्थिति आए पनि मन्त्री बनेर प्रदेश खारेजीको कुरा उठाउने बताए । ‘परिस्थिति मुताबिक चल्ने हो । मन्त्री भएर पनि प्रदेश सरकार, प्रदेशसभा खारेज गर्न भूमिका खेल्ने हो । घर भत्काउन बाहिर बसेर कराएरमात्र सम्भव हुँदैन, घरभित्रै बसेर घर भत्काउनु पर्छ,’ उनले भने ।

चुनावमा प्रदेशसभा खारेजीको मुद्धा लिएर गएको बताउँदै उनले प्रदेश खारेजकै लागि प्रदेशसभामा भाग लिएको बताए । प्रदेश रहुन्जेल प्रदेशको नाम छिट्टो राख्नुपर्ने उनको भनाई छ ।

केन्द्रको राजनीतिमा र प्रदेशमा के गर्ने भन्ने विषयका लागि दुई दिनपछि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने उनले बताए । सरकारमा जाँदा के शर्तमा जाने र नजाँदा किन नजाने भन्ने विषयमा पर्सिको बैठकबाटै निर्णय गर्ने उनको भनाई छ । अहिले राप्रपाले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरे पनि सरकारमा भाग नलिने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार