विराटनगर : विराटनगरका उद्योगी व्यवसायीले ‘चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीति’ विरुद्ध आन्दोलन गर्ने भएका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बिहीबारदेखि बन्द हड्तालमा उत्रने घोषणा गरेका हुन्।
सरकार र राष्ट्र बैंकले उद्योगी व्यवसायीलाई विस्थापनमा पार्ने गरी चर्को ब्याजदर बढाएका कारण आन्दोलनमा उत्रनु गरेको उनीहरुको भनाई छ ।
उद्योग र पसलहरू बन्द गरेर राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, एक दिन बजार बन्द गर्ने लगायतका घोषणा गरेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए ।
एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरुको अर्को माग छ । अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरुको भनाइ छ । स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरुको छ ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं १ को संयुक्त आयोजनामा दुई दर्जनभन्दा बढी संघ संस्थाले बिहीबारदेखि सडक आन्दोलनको तयारी गरेका हुन्।