Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तलब नपाएपछि कोसी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी आन्दोलित



विराटनगर : कात्तिक र मंसिर महिनाको तलब नपाएपछि विराटनगरको कोसी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी आन्दोलित बनेका छन् । नियमित काम गर्दापनि समयमा तलब नपाएपछि आइतबारबाट करारमा नियुक्त भएका १ सय २१ जना चिकित्सक र कर्मचारी आन्दोलनमा छन् । आन्दोलित बनेका उनीहरु अस्पताल विकास समितिबाट करारमा नियुक्त हुन् ।

उनीहरूले आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म अस्पताल प्रशासनअगाडि धर्ना दिएर आन्दोलन सुरु गरेका थिए । उनीहरुले चरणबद्ध रुपमा आन्दोलन जारी राखेका छन् ।

अस्पताल विकास समितिले चिकित्सक, स्टाफ नर्स, हेल्थ असिस्टेन, अनमी, फार्मेसी सहायक, ल्याब टेक्निसियन, खरिदार, मुखिया, चालक, कार्यालय सहयोगी गरी १ सय २१ जनालाई करारमा नियुक्त गरेको थियो ।

अस्पतालका फिजिसियन डा. रोशन खड्काले २ महिनासम्म तलब नपाएपछि बाध्य भएर आन्दोलन गर्नु परेको बताए । तत्काल तलबको व्यवस्था नगरे चरणबद्ध आन्दोलनमा उत्रने उनको भनाई छ ।

करार अवधि थप नहुँदासमेत अस्पतालमा उपस्थित भएर काम गरिरहेका चिकित्सक र कर्मचारी आन्दोलित बनेपछि अस्पतालको सेवा प्रभावित बनेको छ । अस्पतालको सेवा प्रभावित हुन नदिन चिकित्सक र कर्मचारीलाई तत्काल तलबको व्यवस्था हुनुपर्ने आन्दोलनरतहरुको भनाई छ । सोमबार उनीहरुले हातमा कालोपट्टि बाँधेर प्रदर्शन गरेका थिए ।

अस्पताल विकास समितिको बैठक २ महिनादेखि नबस्दा करारमा नियुक्त भएकाको म्याद थप हुन नसकेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले विगत ७ वर्षदेखि स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्तासमेत उपलब्ध गराएको छन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादव काठमाडौंमा रहेकाले तत्काल समस्या समाधान हुन नसकेको अस्पतालले बताएको छ । यादव फर्किएपछि करारमा नियुक्त भएका कर्मचारीको हकमा कुनै निर्णय हुनसक्ने र उनीहरूले तलब पाउने वातावरण बन्ने स्रोतको भनाइ छ ।

यता, अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई भने सदस्य सचिवले समितिको बैठक नबोलाउँदा समस्या निम्तिएको बताए । समितिको सदस्य सचिव मेडिकल सुपरिटेन्डेन्ट हुने व्यवस्था छ । अस्पताल प्रशासनको बेवास्ता र राजनीतिक स्वार्थका कारण विकास समितिको बैठक बस्न नसकेको उनको गुनासो छ ।

भट्टराई भन्छन्, ‘राजनीतिक खिचातानी धेरै हुँदा अस्पतालको अवस्था भद्रगोल र धराशायी बन्दै छ । बारम्बार दबाब दिँदा पनि सदस्य सचिवले बैठक बोलाउन चाहेका छैनन् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार