विराटनगर : प्रदेश १ मा नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ भएको छ । शनिबार निर्वाचन आयोगले प्रदेश प्रमुखसमक्ष प्रदेशसभा निर्वाचनको प्रतिवेदन पेश गरेसँगै सरकार गठनको बाटो खुल्ला भएको हो ।
प्रदेशमा दोस्रो ठुलो दल बनेको नेपाली कांग्रेसबाट दलको नेता बन्न रस्साकस्सी सुरु भएको छ । कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिक १२ गरी २९ जना संसद प्राप्त गरेको छ । कांग्रेसका नेताहरुले आफू निकट संसदहरुसँग भेटवार्ता सुरु गरेका छन् । २९ संसदमध्ये कांग्रेसमा संस्थापन पक्षका १२, संस्थापनइतर कोइराला पक्षका ८ र सिटौला पक्षका ९ जना प्रदेश संसद छन् ।
संसदीय दलको नेता बन्ने दौडमा कांग्रेसको संस्थापन पक्षधरबाट तीन र कोइराला पक्षका एक संसद देखिएका छन् । देउवा सिटौला समूहबाट मोरङका अमृत अर्याल, भीम पराजुली र झापाका उद्धप थापा दलको नेताका आकांक्षी छन् ।
कोइराला समूहबाट प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका केदार कार्की दलको नेताको दाबेदार छन् । उनी मोरङ ६(२) बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । कोइराला समूहमा केदार कार्कीसहित रामकुमार खत्री, शमशेर राई, गयानन्द मण्डल, मानबहादुर लिम्बू, इन्दिरा थापा, विनोद राई र गोविन्द गिरी गरी ८ जना संसद रहेका छन् ।
यस्तै मोरङ ५(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित अमृत अर्याल देउवा समूहबाट दलको नेता बन्ने दौडमा छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका अर्याल यसपटक पनि प्रतिनिधिसभा सदस्यकै आकांक्षी थिए । तर, उनलाई मुख्यमन्त्री बनाउने शर्तसहित प्रदेशमा ल्याइएको कांग्रेस स्रोतको दाबी छ । देउवा समूहमा अर्यालसहित हिमाल कार्की, प्रदिपकुमार सुनुवार, सुनिताकुमारी गुरुङ, सदानन्द मण्डल, खगेनसिंह हाङ्गाम, इसाइल मन्सुरी, गोल्मा तामाङ, लीलाकुमारी राई, मैया श्रेष्ठ, सुनिता गच्छदार, र ममता मगर तामाङ गरी १२ संसद छन् ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली पनि दलको नेता बन्ने दौडमा छन् । मोरङ ४(२)बाट निर्वाचित भएका उनी विराटनगर महानगरपालिकाका पूर्वमेयर हुन् । उनी कृष्णप्रसाद सिटौला समूहका नेता हुन् । आफू दलको नेता बनेर सरकार गठन गर्नु परे राप्रपा पनि सरकारमा सहभागी हुने पराजुलीले दाबी गर्दै आएका छन् ।
सिटौला पक्षकै अर्का नेता उद्धव थापा पनि दलको नेता र मुख्यमन्त्रीका दाबेदार मानिएका छन् । नेपाली कांग्रेस प्रदेश–१ का सभापति रहेका थापा समानुपातिक संसद हुन् । आफू दलको नेता बने सरकारको नेतृत्वसमेत गर्नसक्ने थापाको दाबी छ । सिटौला समूहमा पराजुली र थापासहित भूमिप्रसाद राजवंशी, भूपेन्द्र राई, खगेश्वरी पौडेल, मोहन महर्जन, शोभा चेम्जोङ पालुङ्वा, लेखीकुमारी गणेश र गोपाल तामाङ गरी ९ संसद छन् ।