विराटनगर : गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । २८ प्रतिनिधिसभा र ५६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्रदेश १ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसकेको छ भने समानुपातिकतर्फको अन्तिम चरणमा छ ।
प्रदेशसभामा नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ । १८ लाख १३ हजार २६५ मत गणना हुँदा नेकपा एमाले ६ लाख ३२ हजार ७०४ मतका साथ पहिलो स्थानमा छ ।
प्रदेशसभाको समानुपातिकमा नेपाली कांग्रेस ५ लाख ३२ हजार ८४५ मतका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख ९१ हजार ७७१ मत पाएको छ ।
यस्तै चौथो स्थानमा नेकपा माओवादी केन्द्रको मत १ लाख ७७ हजार ७२१ रहेको छ । जनता समाजवादी पार्टी ५९ हजार ४८५ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीले ५४ हजार ८३१ मत पाएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (२६,२४२), मंगोल नेशनल अर्गनाइजेशन (२५,३२५), हाम्रो नेपाली पार्टी (२३,९०२), जनमत पार्टी (२३,०३९), नागरिक उन्मुक्ति पार्टी (९,२७५), नेकपा माले (७,०६१), लोकतान्त्रिक समाजवादी पार्टी (५,९६४) र राष्ट्रिय जनमुक्ति पार्टीले (५,८८९) मत ल्याएका छन् ।
यही आधारमा समानुपातिकबाट एमालेले १४, कांग्रेसले १२, राप्रपाले ४, माओवादी केन्द्रले ४, जनता समाजवादीले २ र एकीकृत समाजवादीले एउटा प्रदेश संसद प्राप्त गर्ने अवस्था देखिन्छ ।
प्रत्यक्षतर्फ एमालेले २५ सिट जितेको छ । यस्तै नेपाली कांग्रेसले १७ सिट जित्दा माओवादीले ९, एकीकृत समाजवादीले ३ र राप्रपाले प्रत्यक्षमा दुई सिट जितेको छ ।