विराटनगर : मोरङको कटहरी गाउँपालिकामा एकदिने रोजगार मेला सम्पन्न भएको छ । सोमबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को आयोजनामा गाउँपालिकाको फलफूल तथा कृषि थोक बजारमा मेला सम्पन्न भएको हो ।
स्थानीय तहमा रोजगार खोजिरहेका र वैदेशिक रोजगारबाट फर्किएका युवालाई लक्षित गर्दैै मेला आयोजना गरिएको उद्योग वाणिज्य महासंघ प्रदेश १ ले जनाएको छ।
रोजगार मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. अविनाश बोहराले कम दक्ष भएका मानिसहरू वैदेशिक रोजगारमा जाने संख्या बढ्दो देखिए पनि उनीहरूले क्षमताअनुसार पारिश्रमिक भने न्यून पाउने गरेको बताए। मुलुकभित्र दक्ष जनशक्ति अभाव हुँदा स्थानीय उद्योग कलकारखानामा समेत विदेशी श्रमलाई प्रयोग गर्नुपर्ने अवस्था रहेको बोहराको भनाई छ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले मेलाबाट गाउँपालिकामा रोजगारको खोजीमा रहेका युवाहरु लाभान्वित हुने बताए
मेलामा होटल तथा पर्यटन क्षेत्रबाट ५ सय, निर्माण व्यवसायसम्बद्ध, करिब २ हजार ५, सेक्युरिटी कम्पनीबाट १ सय श्रमिक कामदारका लागि फर्म भरेका थिए।
यससँगै अन्य विभिन्न कम्पनीले बजार व्यवस्थापक, रिसेप्सनिस्ट, मेसिन अपरेटर, प्याकेजिङ क्षेत्रमा काम गर्न चाहने दक्ष जनशक्ति आवश्यक भएको जनाएका थिए।
मेलामा हजारभन्दा बढी संख्यामा रोजगार खोजी गरिरहेका सर्वसाधारणका लागि रोजगारको माग आह्वान गरिएको थियो।
एकदिने सो मेलामा सहभागी करिब ९ सय सर्वसाधारणले रोजगारका लागि विभिन्न कम्पनी तथा उद्योगमा सम्पर्क स्थापित गरेको महासंघले जनाएको छ।
महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले मेलाको उद्देश्यअनुरूप रोजगार खोजीमा रहेका जनशक्तिलाई रोजगारदातासम्म पुर् याउने काम भएको जानकारी दिए।
त्यसैगरी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ कार्यसमितिका पदाधिकारी, मोरङ जिल्ला प्रहरी प्रमुख शान्तिराज कोइराला, कटहरी गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारी, उद्योग व्यवसायी सहभागी थिए।
मेलाका लागि अन्तर्राष्ट्रिय श्रम संगठनको वेलकम होम परियोजनाको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र कटहरी गाउँपालिकाको संयुक्त आयोजनामा भएको हो।