विराटनगर : पाँचथरका दुवै प्रदेशसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) मा नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु र (२) मा नेकपा माओवादीका ईन्द्रबहादुर आङवो विजयी भएका छन् ।
प्रदेश (१) मा नेकपा एमालेका राजकुमार भण्डारीलाई पराजित गर्दै एसका कमलप्रसाद जबेगु प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । जबेगुले १६ हजार ८३७ मत ल्याउँदा भण्डारीले १६ हजार २०४ मत ल्याएका छन् ।
प्रदेश (२) मा माओवादीका ईन्द्रबहादुर आङवो तीन हजार बढी मतान्तरले विजयी भएका छन् । आङवो १५ हजार ६७२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका अइन्द्र सुन्दर नेम्वाङ १२ हजार ६०५ मत ल्याएर पराजित भए ।
प्रतिनिधिसभाको मतगणना जारी छ । पछिललो मत परिणाम अनुसार प्रतिनिधिसभामा नेकपा एमालेका वसन्त कुमार नेम्वाङले अग्रता बनाएका छन् । उनले १८ हजार १५ मत ल्याएका छन् । नेपाली कांग्रेसका भीष्म राज आङदेम्वे १७ हजार ७११ मतका साथ दोस्रो स्थानमा छन् ।