विराटनगर : सोलुखुम्बुमा नेकपा एमालेले पहिलो ऐतिहासिक जित निकालेको छ । प्रतिनिधिसभामा मानवीर राईले नेपाली कांग्रेसका बलबहादुर केसीलाई २७७९ को मतान्तरले पराजित गर्दै इतिहास रचेका हुन् ।
मानवीर राईले १९ हजार ३२४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनका प्रतिद्वन्दी केसीले १६ हजार ५४५ मत ल्याएका छन् ।
सोलुखुम्बुमा अहिलेसम्म एमालेले चुनाव जितेको थिएन् । प्रतिनिधिसभामा एमालेको यो पहिलो जित हो ।
सोलुखुम्बुको प्रदेशसभा (१) मा सत्ता गठबन्धनका माओवादी उम्मेदवार गोम्बु शेर्पा विजयी भएका छन् । नेकपा एमालेका निवर्तमान संसद उत्तम बस्नेतलाई पराजित गर्दै शेर्पा विजयी भएका हुन् ।
प्रदेशसभा (२) मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् । माओवादी केन्द्रका शिवबहादुर बस्नेतलाई पराजित गर्दै राजभण्डारी दोस्रो पटक निर्वाचित भएका हुन् ।