Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराट शिक्षण अस्पतालको लाखौँ रकम हिनामिना, १० कर्मचारी पक्राउ



मोरङको बूढीगंगा गाउँपालिका-२ स्थित विराट शिक्षण अस्पतालको भवन

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका-२ मा रहेको विराट शिक्षण अस्पतालको लाखौँ रकम हिनामिना गरेको आरोपमा १० जना कर्मचारी पक्राउ परेका छन् । कर्मचारीको मिलेमतोमा लाखौँ रकम हिनामिना भएपछि अस्पतालमा कार्यरत बिलिङ, डिस्चार्ज र रिसेप्सन शाखामा कार्यरत १० जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अस्पतालले दिएको जाहेरीका आधारमा गत कात्तिक ३ गते बिलिङ एन्ड डिस्चार्ज शाखाका प्रमुख बूढीगंगा-२ का २६ वर्षीय दुर्गाबहादुर विष्ट र क्यासियर सुनसरीको इटहरी उपमहानगरपालिका-४ का २४ वर्षीय अश्विन भट्टराईलाई पक्राउ गरेको मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्की जानकारी दिए । दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा अन्य कर्मचारीको संलग्नता पाइएपछि शुक्रबार अन्य कम्रचारीलाई पक्राउ गरिएको हो ।

अनुसन्धानपश्चात प्रहरीले मोरङको बूढीगंगाका २८ वर्षीय सुनील पासवान, सोही उमेर समूहका दीपेन्द्र तब्दार, २३ वर्षीया स्वस्तिका श्रेष्ठ, २६ वर्षीय सुशील पासवान, २७ वर्षीय प्रभुनारायण चौधरी, २१ वर्षीय करन विश्वकर्मा र ग्रामथान गाउँपालिकाका २३ वर्षीय नरनारायण चौधरीलाई पक्राउ गरेको छ । यस्तै सप्तरीको कन्चनपुरका २३ वर्षीय वसन्तकुमार राम पनि पक्राउ परेका छन् ।

डीएसपी कार्कीका अनुसार पक्राउ परेकाहरु सबैलाई नियन्त्रणमा लिई ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरिएको छ । प्रारम्भिक अनुसन्धानबाट ५७ लाख ९५ हजार १ सय ६० रुपैयाँ हिनामिना भएको खुलेको प्रहरीले जनाएको छ ।

अस्पतालले भने पाँच करोड रुपैयाँ अपचलन भएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन गत कार्तिक ३ गते मोरङ प्रहरीमा उजुरी दिएको थियो ।

उनीहरुले अन्य व्यक्तिको युजर आईडी र पासवर्ड प्रयोग गरी बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटीवापतको रकम अनाधिकृत रूपमा फिर्ता दिएर आर्थिक अपचलन गरेको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार