विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले अबका १५ बर्षपछि देशमा गरिब नरहने बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको गरिबी अन्त्यलाई सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । हुलाकी राजमार्ग अन्र्तगत झापा र मोरङको सीमामा रहेको रतुवा खोलाको पुल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र पर्यटनलगायतका क्षेत्रको तीव्र विकासमार्फत मुलुकलाई समृद्ध बनाउने स्पष्ट संकल्प व्यक्त गरे।
प्रधानमन्त्री ओलीले भने, – ‘यहाँको गरिबी अन्त्य गर्नुपर्छ। अब हामी आधुनिक र विकसित मुलुकतर्फ अघि बढ्नुपर्छ।’ उनले पूर्वाधार विकासलाई त्यसको आधारका रूपमा प्रस्तुत गर्दै पुल, सडक, विद्युत, सञ्चार, सूचना प्रविधि लगायतका क्षेत्रमा देशले उल्लेखनीय प्रगति गरिसकेको दाबी गरे।
प्रधानमन्त्री ओलीले कार्यक्रममा गाउँपालिकाका अध्यक्षबाट प्राप्त ज्ञापनपत्रको उल्लेख गर्दै, त्यसमा उठाइएका सुझावप्रति ध्यान दिने आश्वासन पनि दिए। उनले भने,- ‘म त्यही संकल्प, प्रतिबद्धता र तीव्र इच्छाशक्ति लिएर अगाडि बढिरहेको छु, तपाईंहरू पनि त्यसैगरी अघि बढ्नुपर्छ।’
कार्यक्रममा उनले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट भएकोमा प्रसन्नता व्यक्त गर्दै सबैलाई धन्यवाद पनि दिए। झापा र मोरङको दक्षिणी क्षेत्रलाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको रतुवा खोलामा पक्की पुल १७ वर्षपछि सम्पन्न भएको हो। २०७९ पुस १७ गते देव एण्ड सायररसमतारआशिषदीप जेभी कम्पनीसँग २२ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८१ असार १७ गतेभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको भए पनि कम्पनीले निर्धारित समयभन्दा अघि नै पुल निर्माण सम्पन्न गरेको हो।
यसअघि आर्थिक वर्ष २०६४/६५ मा कालिका–ओसिए जेभीले १० करोड ३२ लाख रुपैयाँमा पुल निर्माणको ठेक्का लिएको थियो । पुलको कुल लम्बाइ ३४८ मिटर रहे पनि सो कम्पनीले मात्र २०४।८ मिटर निर्माण गरेर काम अलपत्र छाडेको थियो। नयाँ ठेकेदार कम्पनीले बाँकी काम सम्पन्न गरी पुललाई सञ्चालनमा ल्याईएको हो ।
कनकाइ खोला पुलको निर्माण पनि सम्पन्न भएपछि मेची पुलदेखि विराटनगरसम्म हुलाकी राजमार्ग सञ्चालनमा सहजता आउनेछ । विराटनगर तर्फको ८ किलोमिटर सडक अझै अलपत्र अबस्थामा रहेको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिए । त्यसलाई तत्काल निर्मण पूरा गर्न आग्रह गरे ।
पुरानो ठेकेदार कम्पनीको लापरवाहीका कारण १७ वर्षसम्म अलपत्र परेको पुल अन्ततः निर्माण सम्पन्न भएपछि स्थानीयवासीले राहत महशुस गरेका छन् ।