विराटनगर । प्रेस चौतारी मोरङले यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुदिप कोइरालालाई प्रदान गर्ने भएको छ।
आज विराटनगरमा बसेको चौतारी मोरङ जिल्ला समितिको बैठकले कोइरालालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज सुमन सुस्केराको संयोजकत्वमा बनेको तीन सदस्यीय पुरस्कार छनोट समितिले सिफारिस गरेको नामलाई बैठकले अनुमोदन गरेको चौतारी मोरङका अध्यक्ष चीना थापाले जानकारी दिइन ।
कोशी सन्देश डटकम अनलाइनका कार्यकारी सम्पादक कोइराला प्रेस चौतारी मोरङका निवर्तमान अध्यक्ष हुन । कोइराला नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको कोषाध्यक्ष समेत हुन। डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएका कोइरालालाई पुरस्कार आगामी साउन दोस्रो सातामा एक कार्यक्रमका बीच प्रदान गरिने बताइएको छ।
२०७६ सालदेखि प्रदान हुँदै आएको यो पुरस्कार यसअघि पत्रकार दीपेन न्यौपाने, महेन्द्र विष्ट, नरेन्द्रप्रसाद दाहाल, बन्धु पोखरेल, केदार चौहान, ललिता भट्टराई, बिक्रम लुइँटेल, धर्मराज ढकाल, भुपेन्द्र तिम्सिना, गणेश लम्साल, रामचन्द्र अधिकारी, इन्दिरा भट्टराई, कमल पौडेल, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी र बाबुराम भण्डारीले प्राप्त गरिसकेका छन।