विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा बजेट खर्चमा सुधार गरेको छ । प्रदेश सरकारले ३५ अर्ब २७ करोड विनियोजित बजेटमध्ये २७ अर्ब २५ करोड रुपैयाँ अर्थात् ७७।२६ प्रतिशत खर्च गरेको छ । गतवर्ष यो अनुपात ७७.१० प्रतिशत थियो ।
वित्तीय विवरणअनुसार पुँजीगततर्फ १३ अर्ब ८२ करोड रुपैयाँ खर्च गर्दै ७९.२६ प्रतिशत कार्यान्वयन गरिएको छ, जुन गतवर्षको ७३.३० प्रतिशतभन्दा राम्रो हो । चालुतर्फ भने खर्च ७५.२९ प्रतिशतमा सीमित भएको छ ।
मन्त्रालयगत हिसाबले भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी ८ अर्ब ५० करोड खर्च गरेको छ । खर्च प्रतिशतमा खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयले ९१।३३ प्रतिशत खर्च गर्दै राम्रो प्रदर्शन गरेको छ ।
समग्रमा पूँजीगत खर्चमा सुधारले विकासप्रतिको सरकारको क्षमता वृद्धि भएको देखिएको छ ।