मोरङ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मजदुरको जीवनयापन सहज बनाउन पुग्ने गरी न्यूनतम पारिश्रमिक वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमार्फत ‘न्यूनतम पारिश्रमिक वृद्धि र श्रम कानुन कार्यान्वयन’ सम्बन्धी चार बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री राईले प्रदेश सरकारले रोजगारदातासँग छलफल गरी कार्यान्वयन गराउने बताए ।
उनले भने — “मजदुरहरूले लोकतन्त्र र सङ्घीयता स्थापना गर्न योगदान दिएका छन्। तिनको परिवारको पालनपोषण हुने गरी न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न पहल गर्छु ।”
मन्त्री राईले मुलुकमा औद्योगिक उत्पादन र समृद्धिका लागि पनि श्रमिकको योगदान अपरिहार्य रहेको बताए । ज्ञापनपत्र बुझाउँदै जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले न्यूनतम पारिश्रमिक ३० हजार ४४३ रुपैयाँ हुनुपर्ने माग राखे ।
जिफन्ट प्रदेश अध्यक्ष किशोर धमला र ट्रेड युनियन कांग्रेसका प्रदेश अध्यक्ष नारायणबाबु कार्कीले पनि सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
यसअघि संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले संसारीमाईस्थानबाट निकालिएको जुलुस नगरका मुख्य भाग परिक्रमा गर्दै महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।