Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धनपालको उखुघारीबाट ८ सय किलो बढी गाँजा बरामद



मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार गडेरीया नोचा प्रहरी चौकी, अमाहीबरीयाती प्रहरी चौकी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार राति ८०२ किलो गाँजा फेला पारेको हो ।

प्रहरीका अनुसार गाँजा २६ वटा बोरामा प्याक गरी उखु घारीभित्र लुकाइएको अवस्थामा भेटिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र गतिमा भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र बगोटीले जानकारी दिए ।

प्रहरीले पछिल्लो समय मोरङका विभिन्न क्षेत्रबाट गाँजा र अन्य लागुऔषध नियन्त्रणका लागि निगरानी र कारबाही बढाउँदै आएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार