काठमाडौं । देशभरका विभिन्न स्थानमा भएको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण प्रमुख १० वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरमा मेची राजमार्ग, रसुवामा पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीको दरवाङ सडक खण्ड, नवलपरासीमा पूर्व–पश्चिम राजमार्ग, डोल्पामा भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा भेरी करिडोर र बझाङको जयपृथ्वी राजमार्गमा आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
यसैबीच, पहिरोका कारण अवरुद्ध बनेका बनेपा–नाला–भक्तपुर सडकखण्ड, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीको केही खण्ड र रोल्पाको सहिद राजमार्ग भने एकतर्फी सञ्चालनमा आएका छन्।
प्रहरीका अनुसार लगातारको वर्षाले विभिन्न स्थानमा सडकमा माटो र ढुङ्गा थुप्रिएर सडक बन्द भएका छन् भने केही ठाउँमा बाढीका कारण सडक बग्न पुगेका छन्। सडक खुलाउन सुरक्षाकर्मी र डोजरसहितको टोली खटिएको जनाइएको छ।