काठमाडौँ । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको युकेएम ओभलमा आज सम्पन्न फाइनलमा सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै नेपालले उपाधि उचालेको हो ।
सिङ्गापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि जोय थापा र अभय यादवले अविजित रहँदै क्रमशः २४ र १० रनको योगदान दिए। शिवान्स बजगाईले २०, शुभम खनालले १८ र प्रसिद्ध जैशीले १७ रन बनाए ।
सिङ्गापुरका बलर कपिस भेन्कटरमनले चार विकेट लिए भने युवान पाण्डेले दुई विकेट झारे । भेदान्स गुप्ता र आकाश तेजाले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनायो । उसका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए भने रिहान नाइकले १५, दान्स गुप्ताले १२ र आकाश तेजाले १० रन जोडे ।
नेपालका बलर अभय यादव र सुशीलबहादुर रावलले समान तीन–तीन विकेट लिए । शुभम खनालले दुई विकेट र कप्तान बिपिनप्रसाद शर्माले एक विकेट लिए ।
निकै रोमाञ्चक बनेको खेलमा नेपालले अन्ततः आवश्यक रन जोड्दै उपाधि कब्जा गरेको हो ।