Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बनेपामा ४५ वर्ष पुरानो पुल भाँचिँदा वैकल्पिक सडकखण्ड पूर्ण अवरुद्ध



बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ र १ को सीमामा रहेको ४५ वर्ष पुरानो पुल भाँचिएपछि नाला–च्यामासिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। गएराति पुल भाँचिएसँगै पूर्वी भेगलाई काठमाडौँसँग जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको यो सडकखण्ड ठप्प भएको हो।

स्थानीय शान्तलाल श्रेष्ठका अनुसार पुल २०३७ सालमा निर्माण गरिएको थियो। लामो समयदेखि जीर्ण अवस्थामा रहेको यो पुल अन्ततः गएराति भाँचिएको हो। पुल भाँचिएपछि बनेपाबाट काठमाडौँ जाने र काठमाडौँबाट आउने सवारी साधनलाई पूर्ण रूपमा रोक लगाइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ।

भक्तपुरको नाला र काभ्रेको बनेपा जोड्ने यो सडकखण्ड अरनिको राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। राजमार्गको सूर्यविनायक–धुलिखेल खण्डमा सडक विस्तार कार्य चलिरहेका कारण धेरैजसो सवारी साधन पछिल्ला दुई वर्षदेखि यही वैकल्पिक मार्गमा गइरहेका थिए।

पुल भाँचिएपछि बनेपा र भक्तपुरतर्फबाट आउने गाडीलाई क्रमशः बनेपा र भक्तपुरमै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ। अहिले सडक विभाग र बनेपा नगरपालिका बीच समन्वय गरेर सडकलाई अस्थायी रूपमा सञ्चालनमा ल्याउने उपायबारे छलफल भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पुल भाँचिएपछि वैकल्पिक व्यवस्था नहुँदासम्म यात्रु र सवारी चालकहरूले केही दिन असहज परिस्थितिको सामना गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार