Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापामा कोभिडका आठ संक्रमित फेला, १५ हजार मात्रा फाइजर खोप वितरण सुरु



झापा । झापामा फेरि कोभिड संक्रमण देखिन थालेको छ। पछिल्लो समय जिल्लामा आठ जना नयाँ संक्रमित पुष्टि भएका छन्। तीमध्ये पाँचजना झापाका हुन् भने बाँकी मोरङ, इलाम र दोलखाका एक एक जना रहेका छन्।

संक्रमणको जोखिम बढ्न थालेसँगै कोभिडविरुद्धको खोप अभियान पुनः सक्रिय बनाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीका अनुसार हालै झापामा १५ हजार मात्रा फाइजर खोप आएको छ।

“झापाका सबै पालिकासँग समन्वय गरेर नयाँ तालिकाअनुसार खोप वितरण सुरु गर्नेछौं,” प्रमुख बाराकोटीले जानकारी दिए।

फाइजर खोप अभियान अन्तर्गत स्वास्थ्य मन्त्रालयले पाँचवटा लक्षित समूहलाई प्राथमिकतामा राखेको छ । संक्रमण देखिन थालेपछि मेचीनगर नगरपालिका–स्थित काँकरभिट्टा नाकामा शंकास्पद व्यक्तिको कोभिड परीक्षण सुरु गरिएको छ। परीक्षणका लागि तीन जना स्वास्थ्यकर्मी खटाइएको कार्यालयले जनाएको छ।

“जटिल अवस्थाका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्नेबारेमा अहिले अन्योल छ,” प्रमुख बाराकोटीले बताए। संक्रमण दर बढ्न नदिन सतर्कता र निगरानीलाई तीव्र पारिएको उनको भनाइ छ। स्वास्थ्य कार्यालयले सबै नागरिकलाई सतर्क रहन, भीडभाड कम गर्न र खोप लगाउन आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार