Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित



काठमाडौं । संघीय निजामती सेवा विधेयक, २०८२ प्रतिनिधि सभाबाट पारित भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि बहुमतले विधेयक अनुमोदन गरेको हो।

विधेयकमाथिको छलफलमा सांसद अमनलाल मोदी, जनार्दन शर्मा, कान्तिका सेजुवाल, प्रकाश ज्वाला, प्रभु साह, रञ्जुकुमारी झा, डा. अमरेशकुमार सिंह, चन्द्रकान्त भण्डारी, रामकृष्ण यादव, ज्वालाकुमारी साह, माधव सापकोटा, लेखनाथ दाहाल लगायतले  धारणा राखेका थिए।

त्यसैगरी, सांसद शेरबहादुर कुँवर, महेन्द्रबहादुर शाही, बासुदेव घिमिरे, ठाकुरप्रसाद गैरे, प्रेम सुवा, रेखा शर्मा, रामप्रकाश चौधरी, नारायणी शर्मा, लिलानाथ श्रेष्ठ, चित्रबहादुर केसी र दिपा शर्मालगायतले छलफलमा भाग लिएका थिए।

सभामुख देवराज घिमिरेले विधेयक पारित भएको औपचारिक घोषणा गर्दै यसलाई संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्येको एक महत्वपूर्ण कदम भएको उल्लेख गरे।

उनले भने, “संघीय निजामती सेवा विधेयक, २०८२ आज प्रतिनिधि सभाबाट पारित भएको छ। यो विधेयक संघीय शासन प्रणालीलाई संस्थागत गर्न, कर्मचारी समायोजनलाई स्पष्ट मार्गदर्शन गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानबिन्दु हो।”

अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार