Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री ओली स्पेन प्रस्थान, ‘विकासका लागि वित्त’ सम्मेलनमा सहभागी हुने



काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज साँझ स्पेन प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमार्फत दोहा हुँदै भोलि बिहान स्पेनको राजधानी म्याड्रिड पुग्ने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यसहित २१ सदस्य सहभागी छन्।

भ्रमणको दोस्रो दिन सेभिया सहरमा हुने नागरिक समाजद्वारा आयोजित प्लेनरी समापन सत्रमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजसँग द्विपक्षीय वार्ता तथा स्पेन नरेशद्वारा आयोजित रात्रिभोजमा सहभागिता जनाउने कार्यक्रम तय भएको छ।

भ्रमणको तेस्रो दिन एलडिसी मुलुकहरूका अध्यक्षको हैसियतमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुका साथै इजिप्ट, पोर्चुगल तथा संयुक्त राष्ट्रसंघ महासचिव एन्तोनियो गुटरेससँग छुट्टाछुट्टै द्विपक्षीय बैठकमा सहभागी हुनेछन्।

असार १७ गते प्रधानमन्त्रीले जलवायु वित्तीय व्यवस्थापन, पानी तथा सरसफाइ लगायत विषयमा आयोजित उच्चस्तरीय साइड इभेन्टहरूमा पनि सम्बोधन गर्नेछन्। त्यसपछि असार १८ गते म्याड्रिड फर्किएर नेपाल–स्पेन व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ।

भ्रमणको अन्तिम दिन, असार १९ गते, प्रधानमन्त्री ओलीले रियल म्याड्रिड फुटबल क्लबका अधिकारीहरूसँग भेटवार्ता तथा रंगशाला अवलोकन गर्नुका साथै नेपाली समुदायसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री ओली असार २० गते दिउँसो काठमाडौं फर्किने तालिका रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार