Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

खाली खुट्टा सुर्खेतदेखि काठमाडौं आएका नवराजले प्रधानमन्त्री ओलीलाई भेटे



काठमाडौं ।  सुर्खेतबाट खाली खुट्टै हिँडेर काठमाडौं आइपुगेका सामाजिक अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका छन्।

कर्णाली क्षेत्रको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यसहित बोहराले गत जेठ ४ गते सुर्खेतबाट आफ्नो पैदल यात्रा सुरु गरेका थिए। उनले ३१ दिनको यात्रा पूरा गर्दै असार ३ गते काठमाडौं पुगेका थिए।

काठमाडौं आइपुगेकै दिन प्रधानमन्त्रीलाई भेट्न प्रयास गरेका बोहरा प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आइतबार मात्र भेट्न सफल भएका हुन्। भेटका क्रममा बोहराले आफ्नो अभियानका क्रममा देखिएका समस्या, उपचार नपाएका बालबालिका, पर्यावरणीय संकट, पशु अधिकार लगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले बोहराको अभियानको भावना र उद्देश्यलाई सराहना गर्दै सकारात्मक ऊर्जा र पवित्र मनोभावका साथ अघि बढ्न सुझाव दिएका थिए। उनले शरीरलाई धेरै कष्ट नदिई स्वास्थ्य र परिवारको पनि ख्याल राख्दै अभियान अघि बढाउन आग्रह गरेका थिए।

बोहराले समाजका जटिल पक्षलाई उजागर गर्न शान्तिपूर्ण र रचनात्मक शैलीमा आवाज उठाउँदै आएका छन्। उनको यो पहलले विभिन्न क्षेत्रको ध्यान तान्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार