पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका मजदुरमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ। हिजो भएको दुर्घटनामा घाइते भएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र २७ वर्षीय राजन चौधरीको विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए।
घटनामा अन्य तीन जना मजदुर पनि घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई पनि शनिबार राति नै पाँचथरबाट विराटनगर पठाइएको थियो।
सडक डिभिजन कार्यालय इलामको जिम्मेवारीमा निर्माण भइरहेको उक्त बेलिब्रिज फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने महत्वपूर्ण संरचना हो। गत वर्ष बाढीले पुल बगाएपछि बेलिब्रिज राखिएको थियो। पुनः बाढीले बगाएपछि हाल ह्युम पाइप डाइभर्सनमार्फत यातायात सञ्चालन भइरहेको छ, तर वर्षा बढ्दै गएमा राष्ट्रिय सडक सञ्जाल टुट्ने जोखिम देखिएको छ।