मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ। शनिबार बिहान ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया श्रीमती फूलमाया लिम्बूको घटनास्थलमै ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरी माछा मार्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो। लिम्बूले नजिकैको बिजुली पोलबाट हुक लगाएर खोलामा करेन्ट प्रवाह गर्ने प्रयास गर्दा दुवैजनालाई एकैपटक करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय बेलबारीको टोली घटनास्थल पुगेको थियो। कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।